मकवानपुर । मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफले बिरगंज युथ स्पोट्र्स एकेडेमीविरुद्ध एक दर्जन गोल हानेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले बिरगंजलाई शुन्यविरुद्ध एक दर्जन गोल हानेको हो ।
खेलको पहिलो हाफमा ५ गोल गरेको एपीएफले दोस्रो हाफमा ७ गोल थप्यो । एपीएफको जीतमा रश्मी कुमारी घिसिङ नायिका बनिन् । उनले एकल ५ गोल गरिन् । उनले खेलको २३, ४९ र ६९ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् भने ७० औं र ७८ औं मिनेटमा थल गोल गरिन् ।
यस्तै, सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । खेलको २५ औं मिनेट अनिता केसी, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गरिन् ।
दुबै हाफमा बिरगंज युथ स्पोट्र्स एकेडेमीले एक गोल पनि गर्न सकेन । खेलको म्यान अफ द म्याच एपीएफकी रश्मी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

यससँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । अब एपीएफले भोलि मंगलबार नै संकटा क्लबसँग फाइनलको लागि भिड्नेछ । यसअघि सिमराको नवजनजागृती युवा क्लबलाई ६–१ फराकिलो गोलान्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो ।
मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ८ः३० बजेबाट सुरु हुनेछ । यस्तै, भोलि नै एपीएफ र संकटा क्लबबीच दोस्रो सेमिफाइनल हुनेछ । उक्त खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल खेल आगामी बुधबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ५ लाख र ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फुटबल संघ मकवानपुरले जनाएको छ ।















