हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ पय्युदमारमा करिब ३५/४० वर्षीया महिलाको शव फेला परेको छ। माण्डु हाइड्रोपावरको पानी छान्ने बकेटमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा शनिबार ती महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
शव फेला परेको जानकारी हाइड्रोपावरमा खटिएको नेपाली सेनाको टोलीले बिहान ७ः३० बजे इलाका प्रहरी कार्यालय भीमफेदीलाई गराएको थियो। जानकारी प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरी र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट SOCO सहितको टोलीसमेत घटनास्थलमा खटिएको थियो। प्रहरी टोली बिहान १० बजे घटनास्थल पुग्दा हालसम्म सनाखत हुन नसकेको करिब ३५/४० वर्षीया महिलाको शव फेला परेको थियो।
घटनास्थल मुचुल्का कार्य सम्पन्न गरेपछि शव पोस्टमार्टमका लागि दिउँसो २ः४० बजे हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
घटना स्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३५ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब ६५ किलोमिटर पूर्व–उत्तरमा पर्छ।














