हेटौंडा । हेटौँडामा दशैँको अवसरमा आयोजित हेटौँडा इन्डोर लिग ९२०२६० को उपाधि याङ्ग्री ब्वाइजले जितेको छ। आइतबार सम्पन्न फाइनलमा आयोजक माया स्पोर्ट्स सेन्टरलाई २ विकेटले पराजित गर्दै याङ्ग्री ब्वाइजले उपाधि हात पारेको हो।
फाइनलमा पहिले ब्याटिङ गरेको माया स्पोर्ट्स सेन्टरले ९।४ ओभरमा २ विकेट गुमाएर ८७ रन बनाएको थियो। उसका लागि विशाल फुयाँलले २० बलमा ५० रनको आक्रामक इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा ६ छक्का प्रहार गरे। आशिम श्रेष्ठ र विशाल फुयाँलले चौथो विकेटका लागि २५ बलमा ५० रनको साझेदारी गरेको आयोजकले जनाएको छ।
८८ रनको लक्ष्य पछ्याएको याङ्ग्री ब्वाइजले ९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। याङ्ग्री ब्वाइजका सक्षम बास्ताकोटीले १५ बलमा २४ रन बनाए। फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका बास्ताकोटी म्यान अफ द म्याच घोषित भए। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका क्षेत्रका १२ टोली सहभागी थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ माया स्पोर्ट्स सेन्टरका रोहित शर्मा बेस्ट ब्याट्सम्यान घोषित भए। उनले प्रतियोगिताभर २०१ रन बनाए। यस्तै, माया स्पोर्ट्स सेन्टरकै रोहित ठाकुरले ७ विकेट लिँदै बेस्ट बलरको उपाधि प्राप्त गरे। याङ्ग्री ब्वाइजका सुमित महर्जन म्यान अफ द सिरिज घोषित भए।
प्रतियोगिताको विजेता याङ्ग्री ब्वाइजले एक लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता माया स्पोर्ट्स सेन्टरले ५० हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ। विजेता टोलीलाई प्रदेश खेलकुद विकास परिषद्का दीपक लामा र राष्ट्रिय क्रिकेट खेलाडी अनिल शाहले ट्रफी, मेडल तथा पुरस्कार रकमको चेक हस्तान्तरण गरेका थिए। उपविजेता टोलीलाई मकवानपुर क्रिकेट संघका पूर्वअध्यक्ष बासुलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।
स्थानीयस्तरमा क्रिकेटको विकास गर्ने, प्रतिभाशाली खेलाडीको पहिचान गर्ने तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक माया स्पोर्ट्स सेन्टरका सञ्चालक रवि धमलाले बताए। प्रतियोगिताले मकवानपुरसहित विभिन्न जिल्लाका क्रिकेट टोलीलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको उनले बताए।














