हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४ लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो अन्दाजी १२:५० बजे बकैया–३ हात्तीसुँडे बस्ने बासु प्रसाद दाहालका छोरा १२ वर्षीय कृशल दाहाल अन्य दुई जना साथीसँग लोहाजोर खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए।
बालक खोलामा डुबेको खबर प्राप्त भएपछि प्रहरी चौकी हात्तीसुँडेबाट प्रहरी नायब निरीक्षक कामबहादुर गुरुङको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
स्थानीयवासीको समन्वयमा उद्धार गरी कृशललाई उपचारका लागि उनका ठूलो बुबा गोपाल प्रसाद दाहालको साथमा मकवानपुर सहकारी अस्पताल पठाइएको थियो। उपचारका क्रममा दिउँसो २ः१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव हेटौंडा अस्पतालमा राखिएको थियो। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापाको कमाण्डमा SOCO सहितको टोली घटनास्थल पुगेको थियो।
पौडी खेल्न गएका अन्य दुई बालक भने सकुशल रहेको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि साँझ ५ः३० बजे मृतकका बुबा बासु प्रसाद दाहालले शव बुझेर लगेका छन्।














