हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित तराई–मधेश फास्ट ट्र्याकमा लोडरको ठक्करबाट एक चिनियाँ नागरिकको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब २ बजे फास्ट ट्र्याक निर्माणस्थलमा काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले ठक्कर दिँदा चीनको सिचुआन प्रान्तका ५१ वर्षीय GUO FANGSHUN गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
GUO FANGSHUN ले China Railway No. 2 Engineering Group Co. Ltd. को तर्फबाट सन् २०२६ फेब्रुअरी १५ देखि सोही स्थानमा सुपरभाइजरका रूपमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार लोडर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले चलाएका थिए। काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले GUO लाई ठक्कर दिएको हो।
घटनापछि प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धानको काम पूरा गरेको छ। मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंको शवगृहमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














