मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक एकतर्फी सुचारु भएको छ ।
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सुचारु आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो ।
अहिले पुल मर्मतसम्भार गरेर साना गाडीका लागि एकतर्फी सडक सञ्चालन गरिएको उनको भनाई छ । तर, ठूला गाडीलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको उनले बताए ।
बगुवा खोलामा बागमती पुलको एक भाग गएको असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको छ ।

















