मकवानपुर । बागमती प्रदेशको ६२ विद्यालयमा नर्स सेवा रिक्त रहेको पाइएको छ । प्रदेशको ८४८ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध भएपनि ६२ विद्यालयमा नर्स सेवा रिक्त रहेको पाइएको हो ।
प्रदेशको विकट तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा नर्सको पद रिक्त रहेको पाइएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशनालयका निर्देशक नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार, प्रदेशको ६२ विद्यालयमा नर्सहरूले विभिन्न कारणले जागिर छाडेका हुन् ।
नगरपालिका क्षेत्रभन्दा गाउँपालिकाहरूमा नियुक्त गरिएका नर्सहरूले जागिर छाडेको उनको भनाई । नगरपालिकाका विद्यालयको तुलनामा गाउँपालिकाको विद्यालयमा नर्स टिकाउन कठिन रहेको उनले बताए ।
ग्रामीण क्षेत्रका विद्यालयमा काम गर्न कठिन रहेकाले पनि नर्सहरू सहर बजार वा पायक पर्ने क्षेत्रमा आकर्षित हुने गरेका देखिएको उनले बताए । प्रदेशको ८२ नर्स सेवा रहेको काभ्रेमा ८ पद, ७६ नर्स सेवा रहेको सिन्धुपाल्चोकमा १२ पद, ६१ नर्स सेवा रहेको दोलखामा १४ पद, १८ नर्स संख्या रहेको रसुवामा ३ पद रिक्त रहेको छ ।
यसैगरी, ७६ नर्स संख्या रहेको नुवाकोटमा ५ पद, ७९ नर्स संख्या रहेको धादिङमा ९ पद, ५१ नर्स संख्या रहेको रामेछापमा १० पद, ५४ नर्स संख्या रहेको ललितपुर जिल्लामा एक पद रिक्त रहेको निर्देशनालयका निर्देशक झाले जानकारी दिए ।
१०८ नर्स सेवा रहेको काठमाडौं, २५ नर्स सेवा रहेको भक्तपुर, ७६ नर्स सेवा रहेको चितवन, ६२ नर्स सेवा रहेको मकवानपुर र ६० नर्स सेवा रहेको सिन्धुलीमा भने सबै पदपूर्ति रहेको उनको भनाई छ । प्रदेशको रिक्त ६१ विद्यालयमा पनि क्रमिक रूपमा यसै वर्ष नर्स पठाउने काम भइरहेको उनले जानकारी दिए ।
विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोसिलो खानेकुराका साथै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धनलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।
उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश, एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।

















