मकवानपुर । हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज (शनिबार) दिउँसो करिब १:१० बजे ४/५ जना बालबालिका मिलेर पौडी खेल्ने क्रममा हेटौंडा–१७ निवासी केशब राईका छोरा अन्दाजी १३/१४ वर्षीय युकेश राई डुबेका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले स्थानीयसँगको सहकार्यमा खोजी कार्य सुरु गरेको थियो । साथै जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीसँग समन्वय गरी उद्धार कार्य अघि बढाइएको थियो ।
खोजीका क्रममा बालक डुबेको स्थानमै फेला परेका थिए । उनलाई दिउँसो करिब २:०० बजे उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । शव हाल अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वर्षातको समयमा खोलानाला तथा पानी जमेको स्थानमा पौडी नखेल्न, बालबालिकालाई जोखिमयुक्त स्थानमा जान नदिन, तथा बाढी आएको समयमा खोलाखोल्सामा जथाभावी नपस्न प्रहरीको आग्रह छ । साथै सवारीसाधन सञ्चालन गर्दा पानीको सतह घटेपछि मात्र पार गर्न समेत अनुरोध गरिएको छ ।















