औषधि पसल बन्द गराउने प्रवृत्तिप्रति व्यवसायीको असन्तुष्टि

हेटौंडा। नेपाल औषधि व्यवसायी संघ मकवानपुरले औषधि पसल बन्द गराउने बढ्दो प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ। शनिबार हेटौंडामा आयोजित जिल्लाका औषधि व्यवसायीहरूको एकदिने अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिबारे विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले कानुनी प्रक्रिया, नियमन तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या र चुनौतीबारे आफ्ना धारणा राख्दै नियमनका नाममा व्यवसाय सञ्चालनमा अनावश्यक अवरोध सिर्जना हुन नहुने बताएका थिए।

संघका निवर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठले विभिन्न कारण देखाएर औषधि पसल बन्द गराउने अवस्था सिर्जना भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे। मकवानपुरमा करिब १३० औषधि व्यवसायी रहेको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे। साथै, नियमन प्रक्रिया पनि कानुनसम्मत, पारदर्शी र व्यवसायमैत्री हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका सचिव बिनोद लामिछानेसहित जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन व्यवसायी, नियामक निकाय र सरोकारवालाबीच आपसी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

सोही अवसरमा नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष विष्णु थापाले सञ्चारिका समूह मकवानपुरलाई एक सय थान सेनेटरी प्याड हस्तान्तरण गरेका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.