मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–२ गुप्तेश्वरीस्थित हेटौंडा–भैंसे–भीमफेदी–काठमाडौं सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर UP65DU 5051 को कारले मोटरसाइकललाई ठक्कर दिँदा भीमफेदी गाउँपालिका–६ धोर्सिङ निवासी करिब ५७ वर्षीय रुद्र आचार्य घाइते भएका हुन्।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त भारतीय कारले धोर्सिङस्थित एक होटलमा बियर खरिद गरेपछि पैसा नतिरी हिँडेको भन्दै होटल सञ्चालक रुद्र आचार्यले सोही दिशातर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा लिफ्ट लिएर कारलाई पछ्याएका थिए। कारलाई रोक्ने उद्देश्यले मोटरसाइकल कारको अगाडि आएर रोक्ने क्रममा कारले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते आचार्यको मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेका छन्। उपचारका लागि उनलाई सोही भारतीय कारमार्फत हेटौंडा अस्पताल ल्याइएको छ।
दुर्घटनापछि भारतीय कारका चालक भारत, उत्तर प्रदेश, भदोही निवासी करिब २८ वर्षीय रजनीश मिश्रालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल घटनास्थलमा फेला नपरेको र यसको नम्बरसमेत खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।















