मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले एउटा खाली ट्रक बगाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज (सोमबार) बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा पानीको बहाव अचानक बढेपछि ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक बगाएको हो।
उक्त स्थानमा ह्युम पाइप राखेर बनाइएको कल्भर्टबाट ट्रक पार गरिँदै गर्दा घटना भएको प्रहरीले जनाएको छ। सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्किरहेको ट्रक चालक चितवन रत्ननगर नगरपालिका-१३ का करिब ३४ वर्षीय दिपक थिङ पौडिएर आफैं बाहिर निस्किन सफल भएका छन्।
उनको खुट्टामा सामान्य चोट लागेको र उपचारका लागि चौघडास्थित राजु मेडिकलमा पठाइएको छ । घटनापछि अस्थायी प्रहरी पोष्ट हटिया तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले उद्दार तथा आवश्यक प्रक्रिया अघि बढाएको छ।
घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बाढीले बगाएको ट्रक भने खोलामै अड्किएको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।















