हेटौंडा । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको विषयलाई लिएर भएको विवादमा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको छ।
मंगलबार राति करिब ८:१५ बजे स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गा सम्बन्धी विवाद हुँदा झैँझगडा भएको थियो।
सोही क्रममा राममहेश्वरले बुटन साहमाथि चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहारबाट बुटनको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र राति करिब ९:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा घाइते भएका रामबहादुर साहको टाउकोमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न राममहेश्वर र रामऔतारलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।















