मकवानपुर । हेटौंडा उपमहानगरपालिका १० कर्रापुल नजिक महेन्द्र राजमार्गमा दुइवटा मोटरसाइकल एकापसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
आइतबार साँझ करिब साढे ७ बजेको समयमा हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना ४५ प ५२१६ नम्बरको पल्सर मोटरसाइकलले कारलाई ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ना २८ प ९७२ नम्बरको होन्डा साइन मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पल्सर मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ८ कमाने निवासी ३१ वर्षीय विवेक वाइबा दुबै हात र खुट्टामा चोट लागी मध्यम घाइते भएका छन् । सोही मोटरसाइकलमा रहेका २६ वर्षीय शुसान रिजालको दाहिने हात र खुट्टामा सामान्य चोट लागेको छ ।
त्यसैगरी होन्डा साइन मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका १३ बनस्पती निवासी ३२ वर्षीय सुनिल मोक्तानको दाहिने हात, खुट्टा र छातीमा चोट लागेको छ । उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा रहेका २५ वर्षीय प्रमोद थापाको बाँया हात र खुट्टामा सामान्य चोट लागेको छ । दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी नायव निरीक्षक शत्रुधन राउतको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।
घाइतेहरूको उद्दार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल वडा प्रहरी कार्यालय हेटौंडाको नियन्त्रणमा रहेको छ ।
दुवै चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने दुवैजनासँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।















