हेटौंडामा सुरक्षागार्डमाथि टाप प्रहार गर्ने आरोपी पक्राउ

मकवानपुर । हेटौंडामा एक व्यक्तिलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका-१० रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डको रूपमा कार्यरत नुवाकोट सूर्यगढी गाउँपालिका-१ का ३२ वर्षीय रोहित तामाङमाथि आक्रमण भएको थियो ।

मंगलबार राति करिब ११:५५ बजे हेटौंडा-५ का ३३ वर्षीय सविन नेपालीले तामाङलाई कुटपिट गरी शरीरका विभिन्न भागमा धारिलो हतियार (टाप) प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए ।  घटनापछि फरार रहेका नेपालीलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनलाई बुधबार बिहान करिब २ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा धारिलो हतियारसहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका नेपालीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.