हेटौंडा । हेटौंडामा रहेको शिवम् सिमेन्टका लागि कच्चा पदार्थ बोक्ने ट्रक तथा टिपरले सवारी नियमको उल्लंघन गर्ने गरेको पाइएको छ । यसैक्रममा त्रिपालले नछोपेर कच्चापदार्थ बोकेको एक मालबाहक ट्रकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिभुवन राजमार्ग अन्तर्गत भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र. ०१-००१ ख ०३७७ नम्बरको ट्रकलाई हेटौंडाको बुद्धचोकबाट नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । शिवम् सिमेन्टका लागि कच्चापदार्थ बोकेको उक्त ट्रकले त्रिपाल प्रयोग नगरी सडकमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको हो ।
त्रिभुवन राजमार्गको उक्त खण्डमा दुईपाङ्ग्रे सवारी, यात्रुबाहक सवारी तथा एम्बुलेन्ससमेत उच्च आवागमन हुने गर्दछ । मालबाहक गाडीको यस्ता गतिविधिले जोखिम बढाउने भन्दै सर्वसाधारणले गुनासो गरेका थिए ।
सोही गुनासोका आधारमा ट्राफिक प्रहरीले ट्रक नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रमेश बिष्टले बताए । उनका अनुसार ट्राफिक नियम उल्लंघन तथा लापरबाही गरेको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
स्थानीय स्रोतका अनुसार उक्त कच्चापदार्थ भीमफेदी गाउँपालिका स्थित बाघझोर क्षेत्रबाट उठाइएको हो । सो क्षेत्रमा कच्चापदार्थ उत्खनन तथा ढुवानी कार्य कानुन विपरीत हुने गरेको स्थानीयको गुनासो छ । गाउँपालिकाले समेत यसअघि नियम उल्लंघन भएको भन्दै सम्बन्धित सवारी साधनलाई दुई दिन नियन्त्रणमा लिएर छोडेको बताइएको छ ।
















