हेटौंडामा मेयर कप फुटबल प्रतियोगिता हुने

हेटौंडा । मकवानपुरको हेटौंडामा ‘मेयर कप २०८२/८३’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। पदमपोखरी युथ क्लबको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य प्रायोजनमा असार ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो।

पदमपोखरी रंगशालामा हुने प्रतियोगितामा उपमहानगरका १९ वटा टोलीको सहभागिता रहने आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। १३ नम्बर वडा कार्यालयको सह–प्रायोजन रहेको प्रतियोगितामा नगर खेलकुद विकास समिति, एन्फा मकवानपुर र वडा नं। १३ खेलकुद विकास समितिले सहकार्य गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द सिरिज’ वापत २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई समेत नगदसहित सम्मान गरिने आयोजक वडा खेलकुद विकास समिति अध्यक्ष अमृत लुङ्बाले जानकारी दिए।

प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमध्ये १० लाख रुपैयाँ उपमहानगरपालिकाले उपलब्ध गराउनेछ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास गर्नाका साथै नयाँ तथा प्रतिभाशाली खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.