हेटौंडामा बजाजका नयाँ विद्युतीय स्कुटर चेतक C2501 र C3503 सार्वजनिक
हामीले आफ्नो सवारी बिक्रीपछि पनि सेवा राम्रो दिने कोसिस गर्ने गरेका छौं र दिइरहेका पनि छौं- सञ्चालक बज्राचार्य

हेटौंडा । बजाज अटोले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल C2501 र C3503 सार्वजनिक गरेको छ। नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा सोमबार हेटौंडास्थित होराइजन अटो प्रालिमा आयोजित कार्यक्रममा दुवै मोडल सार्वजनिक गरिएको हो।

होराइजन अटो प्रालिका सञ्चालक लालकाजी रत्न बज्राचार्यले नयाँ सार्वजनिक गरिएका स्कुटरका विशेषताबारे चर्चा गर्दै पेट्रोलको बढ्दो मूल्यबाट विद्युतीय सवारी प्रयोगकर्तालाई प्रत्यक्ष असर नपर्ने र स्कुटर वातावरणमैत्री रहेको बताए। उनले हेटौंडामा विगत २० वर्षदेखि बजाजका सवारीसाधन बिक्री तथा सेवा दिँदै आएको उल्लेख गर्दै ग्राहकले बजाजप्रति देखाउँदै आएको विश्वास र माया नयाँ विद्युतीय स्कुटरमा पनि कायम रहने विश्वास व्यक्त गरे।

‘हामीले आफ्नो सवारी बिक्रीपछि पनि सेवा राम्रो दिने कोसिस गर्ने गरेका छौं र दिइरहेका पनि छौं,’ उनले भने, ‘विगत २० वर्षदेखि हामीले राम्रो सेवा दिइरहेका छौं। त्यसैले तपाईंहरू सबैले हामीलाई माया गरेर यी चेतकका विद्युतीय स्कुटरप्रति पनि विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं।’

कार्यक्रममा चेतकका नयाँ मोडल खरिद गरी बजाजसँग साझेदारी गर्ने ग्राहकलाई सम्मानसमेत गरिएको थियो। सार्वजनिक गरिएको चेतक C2501 २.५ kWh लिथियम-आयन ब्याट्रीबाट सञ्चालित छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा प्रमाणित IDC अनुसार ११३ किलोमिटरसम्मको रेन्ज र अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ।

यसको फास्ट चार्जिङ प्रणालीमार्फत ० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ। C2501 मा भाइब्रेन्ट कलर LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। यो ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल (म्याट) र मिस्टी यल्लो गरी ६ रंगमा उपलब्ध छ। यसको मूल्य २ लाख ८१ हजार ८ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, चेतक C3503 मा ३.५ kWh क्षमताको लिथियम/आयन ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा प्रमाणित IDC अनुसार १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्छ। पूर्ण मेटल बडीमा तयार गरिएको C3503 मा क्लियर डिजिटल LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज रहेको छ। घोडाको नालजस्तो आकारको क्लासिक DRL हेडलाम्पले पुरानो चेतकको डिजाइनलाई आधुनिक शैलीसँग जोडेको कम्पनीले जनाएको छ।

C3503 इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइवर ह्वाइट गरी चार रंगमा उपलब्ध छ। यसको मूल्य ३ लाख ३८ हजार ५ सय रुपैयाँ तोकिएको छ। लन्चका क्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका महाप्रबन्धक रामेश्वर घिमिरेले चेतकको लाइनअप विस्तारसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताए।

गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि यी दुई नयाँ मोडलमार्फत अझ फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। होराइजन अटो प्रालिका प्रबन्ध निर्देशक राजु रत्न बज्राचार्यले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण अतिथि, आयोजक, सहभागी तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

कम्पनीका अनुसार चेतक C2501 र C3503 दुवै नेपालभरका छनोट गरिएका बजाज डिलरहरूमा बुकिङका लागि उपलब्ध छन्। विद्युतीय सवारीका ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्न सुदृढ सर्भिस नेटवर्कमार्फत सेवा निरन्तरता दिने बजाज नेपालले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.