हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ स्थित चाइनागेट अगाडि महेन्द्र राजमार्गमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार राति करिब ९:१५ बजे बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प २७९१ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको हो। ठक्कर दिएलगत्तै मोटरसाइकल चालक फरार भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक हेटौंडा–११ थानाभर्याङ बस्ने करिब ४० वर्षीया रेणु महत्तो घाइते भएकी छन्। उनको मुख र टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ। स्कुटरमा पछाडि सवार उनका छोरा २० वर्षीय विपिन महत्तोको दुबै हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरी सहायक निरीक्षक अनिल बि.क.को कमाण्डमा खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका फरार मोटरसाइकल तथा चालकको खोजी कार्य जारी रहेको छ।
दुर्घटनामा संलग्न स्कुटर हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ।















