हेटौंडा । अनलाइन ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जना भारतीय नागरिक र १ जना नेपाली (होटल सञ्चालक) लाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य पटनाका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार र २३ वर्षीय अमनराजलाई पक्राउ गरेको हो। उनीहरूसँगै मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका–१० स्थित हेटौंडा बसपार्कमा रहेको बास्तोला होटलका सञ्चालक वर्ष ३७ का दीपक बास्तोलालाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले मिलेमतोमा विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारेर अनलाइनमार्फत ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा बिहिबार उक्त होटलबाट उनीहरूलाई पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गर्ने मोबाइल डिभाइसहरूमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएप लगायतका एपमार्फत समूह (ग्रुप) बनाएर रकम कारोबार गरेको खुल्न आएको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिई अनुसन्धान कार्य अघि बढाइएको छ।
साथै, उनीहरूले प्रयोग गर्ने निम्न युजर आईडीमार्फत ठगिएका व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रयोग गरिएका युजर आईडीहरू:
१. WhatsApp मा “Loan And Finance Services” (मो.नं. +९१ ८९६९०५६१५७)
२. WhatsApp मा “Zi Qing” (+८५२ ४६२९९८२९)
३. Telegram मा “DUKEPAY” (CA-@royaltoking, +८५२ ४६२९९८२९)
– duke_202020 नामक समूह (https://t.me/+OvXrNr2qy85kZWY1)


















