मकवानपुर । अचेत अवस्थाका भेटिएका मकवानपुरका सानो माइला चेपाङको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार, मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय उनलाई बुधबार राति मादक पदार्थ सेवन गरेर प्रतीक्षालयमा अचेत अवस्थामा भेटिइएको थियो । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले चेपाङको उद्धार गरी उपचारका लागि अटोमा राखेर हेटौँडा अस्पतालमा लगेको थियो ।
उनको सोही अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सूचना अधिकारी सञ्जयसिंह थापाले जानकारी दिए ।
त्यस्तै, पूर्वी मकवानपुरको बागमती –७ पाथीभरामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेर एक बालिका घाइते भएकी छन् । पानीमा डबेर स्थानीय १२ वर्षीय मेलिनाकुमारी राई घाइते भएकी हुन् । दिदीहरुसँग चौरा खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।

















