हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि २४ घण्टा भित्र दाबी पेश गर्न आह्वान भएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भोलि साउन २० गते दिउँसो २ बजेभित्र नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवाकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री लामाले आइतबार नै राजीनामा दिएको भएपनि राजीनामा पत्र प्रदेश प्रमुख कार्यालयमा आज मात्र पुगेको हो ।
लामाका स्वकीय सचिव छत्र लामाले सोमबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन् । लामाले प्रदेश प्रमुख देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आजै हेटौँडा आइसकेका हुन् ।
आइतबार पत्रकार सम्मेलनमार्फत् राजीनामा दिने घोषणा गरेका मुख्यमन्त्री लामाले आफ्नो सचिवालयलाई राजीनामा पत्र जिम्मा लगाएर काठमाडौं हिँडेका थिए ।

















