महिनावारी देखी मेनोपज सम्मका कुरा

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले भर्खरै चुनाव जितेकी मात्र थिईन् उनलाई उक्त समयमा अत्याधिक थकान, चिढचिडाहट बढ्दै गयो उनले चिकित्सक संग समेत सल्लाह लिने निधो गरिन् बरु त्यसै समयमा अर्का महिला नेतृ मुनु सिग्देलले आफूलाई मेनोपज भएको बरु मिनालाई पनि डाक्टर सङ्ग सम्पर्क राख्न सुझाव दिईन् ।

मेनोपजका कारण झन्डै डिप्रेसनमा पुगे जस्तै भएको, अत्याधिक पसिना आउने, मोटोपन बढेको नराम्रो अनुभव कांग्रेसकी अर्की नेतृ ईन्दिरा न्यौपानेको छ । त्यस्तै श्रीमान संग त्यस्सै रिस उठ्ने, मुड स्विंग हुने गरेको र आफै देखि आत्मग्लानी बढेको अनुभव अर्का अगुवा महिला शर्मीला श्रेष्ठ बताउछिन् ।

यसो त मेनोपजका विषयमा भर्खरै मात्र चर्चा हुने सुरु गरेको पाईएको छ , मेनोपज (रजोनिवृत्ती) भनेको के हो?
मेनोपज भनेको महिलाको महिनावारी (रजस्वला) स्थायी रूपमा बन्द हुने प्राकृतिक अवस्था हो। जब महिलाको अण्डाशयले अण्डा उत्पादन गर्न छोड्छ र इस्ट्रोजेन जस्ता महिला हर्मोनहरूको उत्पादन घट्न थाल्छ, त्यसपछि महिनावारी बन्द हुन्छ। यो अवस्था सामान्यतया ४५ देखि ५५ वर्षको उमेरबीचमा आउँछ, तर केही महिलामा यसअघि वा पछि पनि देखिन सक्छ। लगातार १२ महिनासम्म महिनावारी नआएपछि मेनोपज भएको मानिन्छ। यो कुनै रोग होइन, तर जीवनको स्वाभाविक चरण हो, जसमा महिलाको प्रजनन क्षमता समाप्त हुन्छ।

महिनावारी भनेको के हो र के हैन ?
महिनावारी रोकिनु भन्दा अगाडी महिनावारीकै विषयमा थोरै चर्चा गरौं । रजस्वला वा महिनावारी भनेको केटीहरूमा महिनामा एकपटक हुने सामान्य जैविक प्रक्रिया हो। यो प्रक्रिया किशोरी अवस्थामा (झण्डै १०–१६ वर्षको उमेर) सुरु हुन्छ र झण्डै ४५–५५ वर्षको उमेरसम्म चल्छ।

महिनावारीमा गर्भाशयको भित्रि तह (ष्लिष्लन) मासिक रूपमा झर्छ, जुन रगतको रूपमा बाहिर निस्कन्छ। महिनावारी चक्र सामान्यतया २८ दिनको हुन्छ, तर २१ देखि ३५ दिनसम्म फरक पर्न सक्छ।महिनावारी चक्रका चार मुख्य चरणहरू हुन्छन् — रक्तस्राव चरण, अण्ड विकास चरण, अण्डोत्सर्ग, र पूर्व–महिनावारी चरण।पहिलो चरणमा रगत बग्छ र अघिल्लो महिनाको गर्भाशयको तह शरीरले बाहिर निकाल्छ।दोस्रो चरणमा अण्डाशयमा अण्डा तयार हुन्छ र शरीरले इस्ट्रोजेन भन्ने हर्मोन उत्पादन गर्छ।

तेस्रो चरणमा अण्डा अण्डाशयबाट निस्कन्छ, जसलाई अण्डोत्सर्ग भनिन्छ। चौथो चरणमा यदि गर्भ बस्दैन भने शरीरमा हर्मोन घट्छ र महिनावारी फेरि सुरु हुन्छ। महिनावारीको समयमा निस्कने रगत रगत, टिश्यु र गर्भाशयको पदार्थ मिसिएको हुन्छ।महिनावारी हुँदा करिब ३० देखि ८० मिलिलिटरसम्म रगत बग्न सक्छ।महिनावारीको समयमा पेट दुख्ने, ढाड दुख्ने, स्तन दुख्ने, थकान लाग्ने, मुड चञ्चल हुने, र पेट फुल्ने जस्ता लक्षण देखिन सक्छन्।महिनावारीमा सफाइको विशेष ख्याल राख्नुपर्छ ताकि संक्रमण नहोस्।महिनावारीमा प्रयोग गर्न सकिने सामग्रीहरूमा स्यानिटरी प्याड, ट्याम्पोन, मेन्स्ट्रुअल कप, र पिरियड प्यान्टी पर्दछन्।

प्रयोग गरिने प्याड वा कपलाई प्रत्येक ४ देखि ६ घण्टामा परिवर्तन गर्नुपर्छ। गुप्तांगलाई सफा राख्नुपर्छ र प्रयोग गरिएको प्याडलाई सुरक्षित रूपमा फाल्नुपर्छ। महिनावारी अत्यन्त पीडादायी भएमा, धेरै अनियमित भएमा, धेरै दिनसम्म नरोकिएमा वा १६ वर्ष पुग्दा पनि सुरु नभएमा डाक्टरसँग भेट गर्नुपर्छ। धेरै समाजमा महिनावारीबारे गलत विश्वासहरू छन्, जस्तै महिनावारी हुँदा केटीलाई छुनु हुँदैन, उनीहरू अपवित्र हुन्छन् आदि। यस्ता विश्वासहरू गलत हुन्, किनभने महिनावारी एउटा स्वाभाविक प्रक्रिया हो। महिनावारीबारे खुला रूपमा कुरा गर्नु आवश्यक छ र छोरीहरूलाई यसबारे आत्मविश्वासी बनाउनु पर्छ। महिनावारी जसरी सुरु हुन्छ, यौटा उमेर समुहमा पुगेपछी सामान्यरुपले महिनावारी रोकिन्छ या सुक्छ जसलाई रजोनिबृत्ती या मेनोपज भनिन्छ । यो सुन्दा सामान्य प्रकृया लागे पनि कतिपयलाई मेनोपजले गम्भिर असर समेत पुर्याईरहेको हुन्छ ।

सञ्चारकर्मी आशिष दुलाल

🔷 मेनोपजका असर
मेनोपजले महिलाको शरीर र मनमा विभिन्न प्रकारका परिवर्तन ल्याउन सक्छ। प्रायः महिलालाई तातो महसुस हुने, रातको समयमा पसिना आउने, निद्रामा समस्या, मूडमा उतारचढाव, झर्को लाग्ने, तनाव वा डिप्रेसन जस्ता लक्षण देखिन्छन् ।

केही महिलामा यौन इच्छा घट्ने, गुप्तांगमा सुख्खा महसुस हुने र शारीरिक सम्बन्धमा असहजता हुन सक्छ। मेनोपजपछि हड्डी कमजोर हुने , छालाको लचकता घट्ने, झाडापखाला वा कब्जियत हुने समस्या पनि देखिन सक्छ। यिनै असरहरूले महिलालाई दैनिक जीवनमा असहज बनाइदिन सक्छ, त्यसैले यसबारे जानकारी र समझदारी आवश्यक हुन्छ। कतिपयको यस्तै कारणले गर्दा श्रीमानश्रीमतीको मनमुटाव र सम्बन्ध समेत टुट्ने गरेको पाईएको छ ।

मेनोपजसँग कसरी जुझ्ने ?
मेनोपजको असरलाई सजिलोसँग सामना गर्नका लागि महिलाले केही सकारात्मक उपायहरू अपनाउन सक्नेछन् । सन्तुलित आहार खानु, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना र क्याल्सियमयुक्त खानेकुरा शरीरलाई शक्ति दिन्छ। नियमित व्यायाम, ध्यान, योग, र सासको अभ्यासले तनाव कम गर्न मद्दत गर्छ।

राम्रो निन्द्राको लागि सुत्ने समयको तालिका मिलाउनु, कफी वा चिया कम गर्नु, मोबाइल वा टेलिभिजन कम प्रयोग गर्नु आवश्यक हुन्छ। मेनोपजको असर धेरै भएको खण्डमा स्वास्थ्यकर्मी वा डाक्टरको सल्लाह लिएर हर्मोन रिप्लेसमेन्ट थेरापी वा अन्य औषधि सेवन गर्न सकिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको यो अवस्था सामान्य हो भन्ने बुझाइ राख्नु र आफूलाई दोष नदिनु भन्ने बताउछन् स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. बिदुर भण्डारी ।

मेनोपजबारे जनचेतना कसरी फैलाउने ?
मेनोपजबारे समाजमा खुला कुरा गर्नु अत्यन्तै जरुरी छ। जनचेतना फैलाउनका लागि गाउँ–सहरमा स्वास्थ्य शिबिर, छलफल कार्यक्रम र तालिमहरू सञ्चालन गर्न सकिन्छ। महिलाहरूले अनुभव बाँड्न सक्ने खुला मंचहरू सिर्जना गरिनुपर्छ। रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल, युट्युब आदिमा मेनोपजबारे सकारात्मक सन्देश दिन सकिनेछ। स्थानीय भाषामा तयार पारिएका पोस्टर, पम्प्लेट, भिडियो वा नाटक प्रभावकारी माध्यम बन्न सक्छन्। आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा विद्यालयका शिक्षकहरूलाई तालिम दिई समुदायमा जानकारी फैलाउन सकिन्छ। मेनोपज लाजको विषय होइन, एक प्राकृतिक अवस्था हो भन्ने सन्देश सम्पूर्ण समाजमा पु¥याउनु आजको आवश्यकता हो।

पुरुषको सहभागिता कसरी बढाउने ?
मेनोपजबारे जनचेतना फैलाउँदा पुरुषहरूको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ। पति, छोरा, दाजुभाइहरूले मेनोपजका लक्षण र असरबारे बुझ्नुपर्छ, ताकि उनीहरू महिलालाई मानसिक र भावनात्मक समर्थन दिन सकून्। पुरुष लक्षित कार्यक्रम, छलफल तथा प्रशिक्षणहरू सञ्चालन गर्नुपर्छ जहाँ उनीहरूलाई “तपाईंको जीवनसाथीको साथ कसरी दिन सकिन्छ?” भन्ने सन्देश दिइयोस्। दम्पतीहरूका लागि संयुक्त शिक्षा कार्यक्रम आयोजना गर्न सकिन्छ, जहाँ श्रीमान् र श्रीमती दुवैले मिलेर मेनोपजबारे बुझ्न सकून्। कार्यस्थलमा पुरुषहरूलाई मेनोपजसम्बन्धी संवेदनशीलता तालिम दिन सकिन्छ। यस्तै, नाटक, कथा, साँचो अनुभवहरू प्रस्तुत गर्ने कार्यक्रमबाट पुरुषको संवेदनशीलता र सहानुभूति बढाउन सकिन्छ।

राधा पौडेल फाउन्डेसनका कार्यक्रम संयोजक सपना पौडेलसंग सञ्चारकर्मी आशिष दुलालले गरेको कुराकानीमा आधारीत ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.