आज हेटौंडा सन्देश मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित हेटौंडा सन्देश डटकम आफ्नो दास्रो वर्षमा प्रवेश गरेको छ। डिजिटल पत्रकारिताको चपेटाभित्र निरन्तर सत्य, निष्पक्षता र जिम्मेवारीका साथ अगाडि बढ्ने हाम्रो यात्रामा आजको दिन एउटा महत्वपूर्ण मोहडा बनेको छ। गएको एक वर्ष कुनै सामान्य समय थिएन—चुनौती, आलोचना, दवाब र अपेक्षाबीच हामीले सदा पाठकका पक्षमा उभिने प्रयास गरिरहेका छौँ। हाम्रो श्लोगन “निष्पक्ष, जिम्मेवार र विश्वसनीय सन्देश संवाहक” केवल शब्द होइन, दैनिक अभ्यास हो।
सत्यतथ्यमा आधारित सूचना दिने दायित्व, सार्वजनिक आवाजलाई सम्मान गर्ने जिम्मेवारी, र तथ्यपरक पत्रकारिताप्रति हाम्रो विश्वास, यही आधारमा हामी उभिएका छौँ। यस एक वर्षमा हामीले समाजका विविध प्रश्नहरू उठायौँ—सुरक्षा, प्रशासन, विकास, स्थानीय समस्या, सकारात्मक पहल र सफलताका कथा सबैलाई समेट्यौँ। मौनता आवश्यक ठिकानामा तोड्यौँ, र आवाज उठाउनुपर्ने बेलामा हामी निस्वार्थ रूपमा अगाडि भयौँ। हाम्रो प्रत्येक समाचार, तस्बिर, विश्लेषण र विचार– यी सबैका मूलमा तपाईं पाठकहरूको विश्वास छ। त्यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। पाठक, लेखक, स्रोत, विज्ञ र शुभेच्छुक– सबैको साथबिना यो यात्रा सम्भव हुने थिएन।
हामीलाई थाहा छ—पत्रकारिता अझै सुधारको यात्रामै छ। हामी पनि शतप्रतिशत परिपूर्ण छैनौँ। तर, त्रुटि छ भने सिक्ने, कमजोरी छ भने सच्याउने र अघि बढ्ने हाम्रो अठोट कहिल्यै कमजोर परेको छैन। दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा हामी अझ गहिरो अनुसन्धानात्मक पत्रकारिता, तथ्य–जाँचमा आधारित सामग्री, स्थानीय समुदायका मुद्दा र डिजिटल परिवेशअनुकूल आधुनिक पत्रकारितालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउँछौँ।
अन्त्यमा,
हेटौंडा सन्देश डटकमलाई हरेक दिन केही क्षण भए पनि सम्झिने, हेर्ने, विश्वास गर्ने र साथ दिइरहने प्रत्येक पाठक, विज्ञापनदाता, सु–सूचक, सहयोगी र शुभेच्छुक प्रति हार्दिक धन्यवाद। हामी अझ जिम्मेवार, अझ निष्पक्ष र अझ विश्वसनीय बन्न निरन्तर प्रयत्नशील रहनेछौँ।
सम्पादक
हेटौंडा सन्देश डटकम















