हेटौंडा । हेटौंडामा यही वैशाख १८ गतेबाट हुने भनिएको सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोेगिता एकदिन सरेको छ । अब गोल्डकप १९ गतेबाट सञ्चालन हुनेछ । नुवाकोटमा जारी प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिताका कारण यहाँ हुने गोल्डकप एकदिन पछि सरेको आयोजकले जनाएको छ ।
गोल्डकपको तयारी करिब पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । छैठौं संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको फुटबल संघ मकवानपुरले यस वर्ष महिला गोल्डकपको आयोजना गर्न लागेको हो । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली र ५ वटा जिल्ला गरी ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाको सहभागिता रहने पक्का भएको संघका सचिव छवि सुवेदीले जानकारी दिए ।
महिला खेलाडीहरुले पछिल्लो समय उत्कृष्ट नतिजा प्रश्तुत गर्दै आएकोले महिला खेलाडीलाई प्रोत्साहन गर्न मकवानपुरमा पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताको प्रायोजक हेटौंडा उपमहानगरपालिका तथा प्रायोजकमा बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिकालगायत स्थानीय संघ संस्था रहेका छन् । उद्घाटन खेलका दिन बाहेक अन्य दिनमा टिकट काट्नुपर्ने व्यवस्था गरिएको प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए । खेल तालिका केही दिनमा सार्वजनिक गरिने भएपनि उद्घाटन खेल चितवन र मकवानपुरको बीचमा हुने बताइएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य एवम् एन्फा महिला संघ अध्यक्ष पेमा लामाले यस्ता गोल्डकपले महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजकुमार मोक्तान, हेटौंडा उपमहानगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

















