हेटौँडा । चर्च ब्वाइज युनाइटेड मकवानपुरको बागमती गाउँपािलकामा जारी ७ औं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चर्च ब्वाइजले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च ब्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे ।
यस्तै, आर्मीका लागि विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च ब्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक चर्च ब्वाइजका थापा घोषित भए ।
उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलगायतले ट्रफी र नगद प्रदान गरे । आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

















