हेटौँडा । राष्ट्रिय युवा संघ मकवानपुरले कृत्रिम बौद्धिकता को दुरुपयोग सम्बन्धमा प्रमुख जिल्ला अधिकारी मार्फत् संघीय सरकारको ध्यानाकर्षण गराएको छ । बिहिबार युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
एआईको दुरुपयोगले समाजमा नकारात्मक असर परेको भन्दै सामाजिक सञ्जालमा देखिएको विकृतिप्रति युवा संघले आपत्ति जनाएको छ । एआईको प्रयोग गरी चरित्र हत्या गर्ने, समाजमा भ्रम फैलाउने, झुठा समाचार प्रसारण गर्ने, व्यक्तिको प्रतिष्ठा गिराउने खालका नकारात्मक गतिविधिलाई तत्काल रोक्ने उपाय निकाल्न यूवा संघले ध्यानाकर्षणपत्र मार्फत माग गरेको अध्यक्ष नगरकोटीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चिलुवालले ध्यानाकर्षण पत्रमा उठान भएका विषयवस्तुहरु निकै संवेदनशिल रहेको बताए । संघको माग प्रति आफु सकारात्मक भएर अघि बढ्ने आश्वासन दिए ।
टोलीमा नेकपा एमाले मकवानपुरका जिल्ला कमिटी सदस्य सानु लामा, युवा संघका केन्द्रिय सदस्य प्रकाश लामा, जिल्लाका सहसचिव आशिष थापा जिल्ला, कोषाध्यक्ष विश्वराज विकल, सचिवालय सदस्य शिवबहादुर वाईवा लगायतको आतिथ्यता रहेको थियो ।

















