हेटौँडा । बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा भएको छ । संघीय सरकारले ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमतीका पाँच जना सरुवा भएका हुन् ।
गत सोमबार साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले एकैपठक यति धेरै संख्यामा कर्मचारी सरुवा गरेको हो ।
प्रदेशमा हाल कार्यरत् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीको सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठको राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सरुवा गरिएको छ ।
यसैगरी, सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवरलाई गृह मन्त्रालयमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव उदयबहादुर राना मगरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ ।
यसैगरी, सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्टको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा र लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको छ ।

















