हेटौँडा । मकवानपुरको हेटौँडा बसपार्कबाट लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का १९ वर्षीय प्रितम बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकरी दिए ।
प्रवक्ता अर्यालका अनुसार, लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बुधबार हेटौँडा–१०, बसपार्कस्थित ठेकिको छेउमा शंकास्पद रुपमा उभिएका उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट लागूऔषध खैरो हेरोइन १६ ग्राम ४०० मिलिग्राम बरामद गरेको प्रवक्ता अर्यालले बताए । उनले आफ्नो पाइन्टको खल्तीमा प्लास्टिकमा बेरेर लुकाइ राखेको अवस्थामा सो परिमाणको लागूऔषध बरामद गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई तीन दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता अर्यालले बताए ।

















