हेटौंडा । मकवानपुर प्रहरीले २७ बोतल प्रतिबन्धित लागूऔषध ओनेरेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।
लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ स्थित कपुर कम्प्लेक्स अगाडिको भित्री सडकखण्डबाट एकजनालाई पक्रेको हो । बा.प्र.०३–००६ प ५४०५ नम्बरको स्कुटर जाँचको क्रममा ओनरेक्ससहित एकजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा हेटौंडा १४ मयुरधाप घर भई हाल हेटौंडा ५ मा डेरा गरी बस्ने २८ वर्षीय कालीबहादुर बस्नेत रहेका छन् । प्रहरीले स्कुटरको डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा लागूऔषध ओनेरेक्स १०० एमएलको २७ बोतल बरामद गरेको हो ।
बरामद गरिएको लागूऔषध र स्कुटर समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका बस्नेतविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मकवानपुरमा पछिल्लो समय दैनिकजसो लागूऔषधसहित मानिस पक्राउ परिरहेका छन् ।
,,















