महिला मिलन साकोसले मनायो २५ औं स्थापना दिवस

मकवानपुर । महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले बिहीबार आफ्नो स्थापना दिवस मनाएको छ । हेटौंडा–१३, पदमपोखरीमा अवस्थित उक्त सहकारीले आफ्नो २५ औं स्थापना दिवस मनाएको हो ।

सहकारीले सामाजिक भूमिका, महिला नेतृत्वको प्रभावकारिता तथा आगामी योजना विषयक प्रस्तुत गर्दै कार्यक्रम गरिएको हो । कार्यक्रम संस्थाका अध्यक्ष मीना थापाको सभाध्यक्षता तथा बागमती प्रदेशका गरिबी निवारण तथा सहकारी मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बागमती प्रदेशमा रहेका करिब १२ देखि १३ हजार सहकारी संस्थामध्ये दुई/तीन सय मात्र समस्या देखिएको उल्लेख गरे । महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरू तुलनात्मक रूपमा बढी उत्तरदायी, अनुशासित र पारदर्शी देखिएको उनको भनाई छ ।

मन्त्री श्रेष्ठले सहकारीलाई गरिबी निवारण र आर्थिक समावेशिताको भरपर्दो आधारको रूपमा परिभाषित गर्दै सहकारी प्रणाली सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । साथै उनले सहकारीमार्फत् परिवर्तन सम्भव रहेको स्पष्ट पारे ।

यस्तै, संस्थाका अध्यक्ष थापाले महिला मिलन साकोसले विगत २५ वर्षको अवधिमा गरेका प्रयासहरू, सामुदायिक स्तरमा पुर्याएको योगदान तथा भविष्यमा लैजानुपर्ने लक्ष्यबारे बताइन् ।

सो क्रममा सफल उद्यमीतर्फ प्रमिला माया स्याङ्तान, अनिशा विक, देवी भोम्जन, आराधाना घलान र दीपा बलामीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कार्य सम्पादन गर्ने समूह लक्ष्य महिला समूह, ऋणी सदस्यहरुमा रीता स्याङ्तान, सपना श्रेष्ठ, ममता माया रुम्बा, अमृता तामाङ, विशुकुमारी थोकरलाई सम्मान गरिएको थियो ।

यसैगरी, उत्कृष्ट बचतकर्तातर्फ विनिता थिङ, रिना लामा, रञ्जिता शिवाकोटी, सीता ढुङ्गाना, सीता विक, विमला मोक्तान, समिका खतिवडा, विविमाया मुक्तान, सरिता लामा र कविता मैनाली समूह र उद्यमीहरूलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पदमपोखरी बहुमुखी क्याम्पसलाई २५ हजार रुपैयाँ बराबरको छात्रवृति सहयोगसमेत प्रदान गरेको छ ।

कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामा, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्र प्रसाद ढुङ्गाना, सहकारी विभाग शाखा प्रमुख महेन्द्र चापागाई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीधिक दलका प्रतिनिधि र स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

उक्त सहकारीमा हाल ६ हजार चार सय जना सदस्य रहेका छन् । ७ करोड १३ लाख ५७ हजार शेयर पुजीँ रहेको सहकारीले आफ्ना सदस्यलाई ५४ करोड ३६ लाख २६ हजार १४२ रुपैयाँ कर्जा लगानी गरेको प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.