भूपेन्द्र सिंं थेबे
म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ। म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु। मेरो विवेक र वृद्धिले भ्याएसम्म संघको उन्नयनमा समय खर्च गरेको छु। अहिले नेविसंघमा रहने उमेरको सीमा ३२ वर्ष तोकिएको छ। अब हुने महाधिवेशनपछि हाम्रो पुस्ता नेविसंघमा रहन सक्दैन, उमेरका कारण। मसहित हाम्रो पुस्ता प्राकृतिक रुपमा आगामी महाधिवेशनमा नेतृत्व लिन अघि बढ्छ नै। लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु। र, सबै साथीहरुलाई साथमा लिएर सफल नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ।
भूपेन्द्र सिंं थेबे अहिले नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्य हुनुहुन्छ। सुदूर पूर्वको ताप्लेजुङमा जन्मिएर झापाको बुद्धशान्ति–४ मा हुर्कनु भएका उहाँ २०६६ सालदेखि निरन्तर नेविसंघको राजनीतिमा संलग्न रहँदै आउनु भएको छ। झापाको बर्ने माध्यमिक विद्यालयबाट एसएलसी, बिर्तामोडको गोमेन्द्र उच्च माविबाट प्लस टु र मेची क्याम्पसबाट स्नातक उत्तीर्ण गर्नु भएका उहाँ हाल स्नातकोत्तर अध्ययनरत रहनु भएको छ। नेविसंघमा गोमेन्द्र उच्च माविको इकाई सभापति, झापाको जिल्ला सदस्य दुई पटक, जिल्ला सहसचिव, उपाध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्य रहनु भएको छ। उहाँसित कल्पवृक्ष का लागि सूचना तथा प्रविधि सम्पादक सुजन सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश :
तपाईं कसरी नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभयो ?
क्याम्पस पढ्दा पाठ्यक्रमबाहिरका पुस्तकहरू पनि पढ्ने अवसर पाएँ। मलाई राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यता मन प–यो। यस्तो मान्यता नेपाली कांग्रेसले लिएको हुँदा म नेपाली कांग्रेसलाई मन पराउन थालेँ। र, कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध हुन पुगेँ।
नेविसंघमा कुन–कुन समितिमा रहेर काम गर्नुभयो ?
म २०६६ मा नेविसंघमा आबद्ध भएपछि म पढ्ने गोमेन्द्र उच्च मावि, बिर्तामोडको इकाई सभापति बनेँ। त्यसपछि नेविसंघको झापा जिल्ला समिति सदस्य दुई पटक भएँ। अनि, जिल्ला समितिको सहसचिव, उपाध्यक्ष बनेर काम गरें। त्यसपछि केन्द्रीय कार्यसमितिमा पुगें।
संघको केन्द्रीय सदस्य हुनुहुन्छ, अबका योजना के छन् ?
२०६२/०६३ को आन्दोलनले राजसंस्था हटाएर गणतन्त्र ल्याएपछि विद्यार्थी आन्दोलनको एक चरण पूरा भयो। अब, विद्यार्थी आन्दोलन भनेको आधुनिक शिक्षासँग जोडेर अघि बढ्नुपर्छ। देशबाट हजारौंको संख्यामा युवायुवती उच्च शिक्षा लिन विदेश गइरहेका छन्, जसले देशमा दक्ष जनशक्ति कम हुँदै गएको छ।
हाम्रो शैक्षिक स्थिति परिवर्तन नभएको कारण दक्ष जनशक्ति उत्पादन हुन पाइरहेको छैन। तसर्थ विद्यार्थी संगठनहरूले अध्ययन तथा अनुसन्धान गरेर विदेश अध्ययन गर्न नजाने वातावरण बनाउनु पर्छ। विदेशिने विद्यार्थीको चाहनाअनुसार देशमै रहने वातावरण बनाउनु पर्छ। आधुनिक शिक्षा पद्धतिसँग जोडिँदै अघि बढ्न सक्नुपर्छ। नेविसंघले दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई दबाब पनि दिनुपर्छ र त्यो दिन्छ पनि। शैक्षिक सुधारका काममा नेविसंघ लागिरहन्छ। म यी र यस्ता कामका लागि मेरो बुद्धि र विवेक खर्च गर्दै अघि बढ्छु।
नेविसंघको संगठन विस्तारका लागि के गर्नुभयो ?
म नेविसंघको संगठन विस्तार भनौं वा जिल्ला तहमा नेविसंघको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न देशका ६५ जिल्ला पुगिसकेको छु। समग्रमा देशभर नेविसंघको सांगठनिक अवस्था राम्रो छ।
१२ औं महाधिवेशन किन ढिला भएको हो ?
यसमा विविध कारण छन्। २०७५ पछि महाधिवेशन हुन सकेको छैन। तदर्थ समितिबाट काम भइरहेको छ। नेविसंघको विधान तयार छ तर नेपाली कांग्रेस अर्थात् माउ पार्टीबाट त्यो पारित भइसकेको छैन। महाधिवेशन जतिसक्दो छिटो गर्नुपर्छ। अब नयाँ मिति तय गरेर महाधिवेशन नगरेको खण्डमा तदर्थ समिति नै भंग हुने अवस्था आउन सक्छ। यसमा पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय उचित समयमा लिन्छ भन्ने लाग्छ।
आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिनुहुन्छ ?
म आगामी अर्थात १२ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी हुँ। म दुई दशकसम्म नेविसंघमा सक्रिय भएर लागिरहेको छु। मेरो विवेक र वृद्धिले भ्याएसम्म संघको उन्नयनमा समय खर्च गरेको छु। अहिले नेविसंघमा रहने उमेरको सीमा ३२ वर्ष तोकिएको छ। अब हुने महाधिवेशनपछि हाम्रो पुस्ता नेविसंघमा रहन सक्दैन, उमेरका कारण। मसहित हाम्रो पुस्ता प्राकृतिक रूपमा आगामी महाधिवेशनमा नेतृत्व लिन अघि बढ्छ नै। लामो समयसम्मको सक्रियता र संघमा पुर्याएको योगदानका कारण म अध्यक्ष बन्नेछु। र, सबै साथीहरूलाई साथमा लिएर सफल नेतृत्व प्रदान गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ।















