मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–३, देउडी डाँडामा गत जेठ १९ गते किङ कोब्रा उद्धारका क्रममा घटेको घटना अहिले जीवन र मृत्युबीचको संघर्षको दुर्लभ उदाहरण बनेको छ। विश्वकै सबैभन्दा लामो र विषालु सर्प मानिने किङ कोब्राले टोकेपछि पनि जीवित रहन सफल भएका छन् राजेश गरिब।
“त्यो दिन केवल दुर्घटना मात्र थिएन, एउटा नमिठो सपना जस्तै थियो।” उनले सामाजिक सञ्जालमा ती बीचमा भएका सबै क्षण स्मरण गर्दै लेखेका छन् “रेकर्ड हेर्ने हो भने किङ कोब्राले टोकेको मानिस बाँच्ने घटना विश्वमै बिरलै हुन्छ,”
घटनाको निर्णायक क्षण त्यतिबेला आयो, जब उनका छोरा रोशन दीपले असाधारण साहस देखाउँदै सर्पलाई तानेर फाले। त्यसले सर्पलाई धेरै विष प्रवाह गर्ने मौका नदिएको उनले बताएका छन्। “त्यो नै मेरो सबैभन्दा ठूलो भाग्य बन्यो,” उनले उल्लेख गरेका छन्।
घटनापछि तत्काल उद्धारमा खटिएका लालबहादुर बुढाथोकी, पुर्ण खत्री, महेन्द्र देव श्रेष्ठ र देव घिसिङ्गले ढिला नगरी अस्पताल पुर्याए। उनीहरूलाई राजेशले “मानव भएर पनि देवता”को संज्ञा दिएका छन्।
अस्पतालमा पुगेपछि विशालराज महत, अनिल कुमार खाती, डिभिजन वन हेटौंडाका प्रमुखसहित कर्मचारीहरूको सक्रियता बढ्यो। चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १२ भायल एन्टी स्नेक भेनम प्रयोग गर्दै विषको असर नियन्त्रणमा ल्यायो। उपचारमा डा. हरिबहादुर खड्काको महत्वपूर्ण भूमिका रह्यो।
तर, समस्या त्यत्तिमै सीमित रहेन। टोकेको भागमा गम्भीर सुन्निने, संक्रमण र घाउ पाक्ने समस्या बढ्दै गयो। शल्यचिकित्सकहरूको टोली उपचारमा जुटे पनि तत्काल सर्जरी सम्भव नभएपछि औषधिमै उपचार अघि बढाइयो।
पछि, जेठ ३० गते अवस्था जटिल बन्दै गएपछि डा. खड्काले मकवानपुर सहकारी अस्पतालसँग समन्वय गरी शल्यक्रियाको व्यवस्था मिलाए। उपचारको प्रत्येक चरणमा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल प्रशासनको निरन्तर प्रयासले उनलाई जीवनतर्फ फर्काउन सफल भयो।
राजेशका अनुसार हेटौंडा अस्पतालमै उपचार सम्भव भएको र चिकित्सकहरूको प्रयासले आफू मृत्युको धेरै नजिकबाट फर्किएको बताए। “मलाई बचाउने अभियानमा सबैको योगदान छ,” उनले भनेका छन्।
यसबीच उनले संकटमा मानिसहरूको वास्तविकता पनि अनुभव गरे। “कोही केवल फोन गरेर औपचारिकता निभाउने देखिए, तर धेरैले निस्वार्थ साथ दिए,” उनले लेखेका छन्। जीवन-मृत्युको संघर्षमा आफूलाई भेट्न आउने, सहयोग गर्ने असंख्य व्यक्तिप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।
“आज म हरेक संकट पार गरेर जीवित छु। यो सबैको माया, साथ र भगवानको आशीर्वाद हो,” उनले भावुक हुँदै उल्लेख गरेका छन्। हाल स्वास्थ्य लाभ गरिरहेका राजेश गरिब अब चाँडै आफ्नो काममा फर्किने तयारीमा छन्।















