हेटौँडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले हेटौँडामा बढ्दो अटो रिक्साको संख्या अनुसार व्यवस्थित पार्किङको व्यवस्था गर्न स्थानीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल अटो इ–रिक्सा व्यवसायी संघको आठौँ साधारण सभामा बोल्दै सिटौलाले यस्तो बताएका हुन् । हेटौँडामा पार्किङ अभाव गम्भीर समस्या रूपमा देखिएको उल्लेख गर्दै भने,“मेयरज्यूले बजार विस्तार गरेर हिम्मत देखाउनुभएको छ, अब २ हजार ५ सयभन्दा बढी अटो रिक्साका लागि व्यवस्थित पार्किङ बनाइदिनुभयो भने हामी तपाईंलाई ‘हिम्मतवाली मेयर’ भन्न तयार छौँ।”
उनले यातायात व्यवसायी सडक विस्तारको पक्षमा रहेको बताउँदै साना सडक र घरधुरीका कारण जाम र समस्या बढेको उल्लेख गरे । सिटौलाले अहिलेको सरकारले यातायात क्षेत्र सुधारका लागि सकारात्मक पहल गरिरहेको दाबी गरे। उनले प्रधानमन्त्री, गृहमन्त्री तथा जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङसँग पनि सुधार सम्बन्धी सकारात्मक भेटवार्ता भएको बताए ।
यातायात व्यवसायीलाई मापसे–लापसेबाट टाढा रहन चेतावनी दिँदै उनले यात्रुसँग सभ्य व्यवहार गर्न र ट्राफिक प्रहरीलाई सहयोग गर्न आग्रह गरे। सबै अटो व्यवसायीलाई दर्ता–नवीकरणमा सक्रिय हुन पनि सुझाव दिए ।
कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, माधव अधिकारी, ज्ञानेन्द्र कार्की, रञ्जना बर्तौला लगायतले पनि मन्तव्य राखेका थिए । संघका उत्कृष्ट सदस्यहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । संघमा हाल दुई हजार पाँच सय सदस्य रहेका छन् ।

यस्तै, सो साधारण सभाले भीमप्रसाद गौतमको नतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । यसअघि पनि अध्यक्ष रहेका गौतमलाई पुनः सोही पदमा चयन गरेको हो ।
यसैगरी, उपाध्यक्षमा होमलाल देउला, सचिवमा भीमबहादुर पाख्रिन, कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सिना चयन भएका छन् भने सदस्यहरूः फणिन्द्र सञ्जेल, सूर्यबहादुर थिङ, हरि प्रसाद न्यौपाने, उत्तम अधिकारी, टेक प्रसाद न्यौपाने चयन भएका छन् ।















