आज साउने संक्रान्ति मनाइँदै

मकवानपुर । आज बिहीबार साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने प्रचलन रहेको छ ।

हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छाला सम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास रही आएको छ । साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ ।

महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.