मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष अन्यौलमा परेको छ । सबै जिल्लामा धमाधम गोल्डकप सञ्चालन भैरहँदा यस वर्ष मकवानपुर गोल्डकपको कुनै सुरसार नै छैन ।
गत वर्ष माघ २७ गते छैठौं संस्करणको गोल्डकप सम्पन्न गरेको फुटबल संघले यो वर्षका लागि प्रतियोगिता गर्ने आँटै गर्न सकेको छैन । अघिल्लो वर्षकै प्रतियोगिताको तिरोतारो बाँकी रहेको र गोल्डकपका लागि आर्थिक स्रोत सुनिश्चित नभएकोले यस वर्ष प्रतियोगिता गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता रहेको फुटबल संघ मकवानपुरका एक पदाधिकारीले बताए ।
‘अघिल्लो वर्षकै ऋण तिर्न बाँकी छ । प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिका र जिल्लाका अरु पालिकाले पनि खासै बजेट छुट्याएका छैनन्’, ती पदाधिकारीले भने, ‘यो वर्ष सायद् गोल्डकप हुँदैन होला ।’ यद्यपी संघ अध्यक्ष टीकाराम लामा, उपाध्यक्ष युवराज लामा र कोषाध्यक्ष अमृत लुङ्बा लगायत प्रतियोगिताको नामै परिवर्तन गरेर भएपनि गोल्डकपलाई निरन्तरता दिने उद्देश्यसहित सम्भावित स्रोत खोज्न लागिपरेका छन् ।
संघले स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको नाममा प्रतियोगिता गर्दै आएको थियो । सुरुवातीका केही वर्ष जिल्लाका स्थानीय तहले यस खेलका लागि २ देखि ५ लाख रुपैयाँसम्म बजेट छुट्याउने गरेको भएपनि पछि ‘उपलब्धिविहीन’ भन्दै बजेट कटौती गर्दै गएका थिए । अघिल्लो वर्षको गोल्डकपका लागि हेटौंडा उपमहानगर बाहेक अन्य स्थानीय तहले खासै बजेट दिएनन् ।
‘मुख्यमन्त्री कप’ नाम दिएर प्रतियोगितालाई निरन्तरता दिन सकिन्छ कि भन्ने अभियानमा फुटबल संघका केही पदाधिकारीहरु आन्तरिक ‘होमवर्क’मा रहेको ती पदाधिकारीले बताए । यता अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले गोल्डकपले निरन्तरता पाउने प्रतिक्रिया दिँदै आएका छन् ।
‘हामीले यस वर्ष करिब २ महिना लगाएर जिल्ला लिग सम्पन्न ग¥यौं । सायद् नेपाल सुपर लिग ९एनएसएल० पछि गोल्डकप गर्छौं होला । तयारी गरिरहेका छौं’, लामाले भन्ने गरेका छन् ।
संघका कोषाध्यक्ष अमृत लुङ्बाले स्रोतको सुनिश्चित नभएकोले गोल्डकपको विषयमा अन्यौलता रहेको स्वीकारे । यस विषयमा पछिल्लो अपडेट लिन खोज्दा अध्यक्ष लामाले फोन उठाएनन् । फुटबल संघले ५ वर्षपछि यस वर्ष जिल्ला लिग फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । २८ वटा क्लवको बीचमा श्रेणी (डिभिजन) छुट्याएर गरेको जिल्ला लिगको उपाधि पदमपोखरी क्लवले जितेको थियो ।
छैठौं संस्करणको हिसाव सार्वजनिक भएन
छैठौं संस्करणको मकवानपुर गोल्डकप फुटबल सम्पन्न भएको एक वर्ष भइसक्दा पनि हिसाब सार्वजनिक हुन सकेको छैन । फुटबल संघको आयोजनामा गत २०८१ माघ २७ गते गोल्डकप सम्पन्न भएको थियो । एक वर्ष बित्दा पनि संघले हिसाव सार्वजनिक गर्न कुनै चासो नदेखाएको हो ।
संघका कोषाध्यक्ष अमृत लुङ्बाले गोल्डकपको हिसाब सार्वजनिक गर्न ढिलाई भएको स्वीकारे । ‘हिसाब सबै पहिल्यै निकालिसकेका छौं । सार्वजनिक हुन बाँकी हो’, लुङ्बाले भने, ‘५÷६ वटै स्थानीय तहले दिने भनेको रकम नआउँदा हामीलाई समस्या भएको छ ।
यसका लागि पनि पहल भैरहेको छ ।’ प्रतियोगिता भएको वर्ष दिन बितिसक्दा पनि फुटबल संघले हिसाब सार्वजनिक गर्न नसक्दा आलोचना समेत बढिरहेको छ । छैठौं संस्करणको गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लवले जितेको थियो । न्यूरोड टिम (एनआरटी) लाई सडनडेथमा पराजित गर्दै एपिएफले उपाधि जितेको थियो । साभारः प्रदेश राष्ट्रिय दैनिक

















