खोलामा पुल नबन्दा आवतजावतमा सास्ती, मनलाग्दी अटो भाडाले झन् मारमा

हेटौंडा । बर्खायाम सुरु भएसँगै मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा रहेको जिर्खे खोलामा पानीको बहाव अत्यधिक बढ्दा स्थानीय बासिन्दा आवतजावतमा सास्ती व्यहोर्न बाध्य भएका छन् ।

खोलामा पक्की पुल नहुँदा दैनिक जोखिम मोलेर खोला तर्नुपर्ने अवस्था रहेको छ । मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकालाई जोड्ने मुख्य मार्गकै रूपमा प्रयोग हुँदै आएको यस खोला पार गरेर स्थानीयबासी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा गाउँपालिकाका सेवाग्राही दैनिक आवतजावत गर्दै आएका छन् ।

तर वर्षायाममा खोला उर्लदाँ घण्टौं पर्खिनुपर्ने, कतिपय अवस्थामा फर्किनुपर्ने अवस्था सिर्जना हुने गरेको स्थानीयले बताएका छन् । खोला सामान्य अवस्थामा सानो देखिएपनि वर्षायाममा एक्कासी बहाव बढ्ने भएकाले जोखिम झन् बढ्ने गरेको छ ।

विगतमा मानिस बगाएका घटनासँगै सवारी साधन समेत बगाएको उदाहरण रहेको स्थानीयले जानकारी दिएका छन् । विशेषगरी बिरामी बोक्दा, विद्यालय जानुपर्ने बालबालिका तथा सरकारी कामकाजका लागि हिँड्ने सेवाग्राहीलाई ठूलो समस्या पर्ने गरेको छ ।

यस्तै समस्यालाई मध्यनजर गर्दै जिर्खे खोलामा पहिलो पटक पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय अन्तर्गत प्रदेश सरकारबाट बजेट प्राप्त भएसँगै पुल निर्माणको काम अगाडि बढाइएको हो ।

गाउँपालिकाका इन्जिनियर निरोज महतका अनुसार पुलको लागत अनुमान ८ करोड १४ लाख रुपैयाँ रहेको छ भने ठेक्का सम्झौता ६ करोड ५३ लाख ३० हजार ९५४ रुपैयाँमा भएको छ । गत असार महिनामा ठेक्का सम्झौता भएको पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।

३५ मिटरका दुईवटा स्पानसहित कुल ७२ मिटर लामो पुल बन्नेछ । पुल निर्माण सम्पन्न भएपछि राक्सिराङ मात्र नभई मनहरी र छिमेकी क्षेत्रका हजारौं नागरिकलाई सुरक्षित र सहज आवतजावतमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

मनलाग्दी अटो भाडाले सेवाग्राही झन् मारमा
सो खोलामा बर्खायामसँगै पानीको बहाव बढेपछि आवतजावतमा समस्या भोगिरहेका स्थानीय अहिले चर्को अटो भाडाको मारसमेत खेप्न बाध्य भएका छन्।

खोलामा पक्की पुल नहुँदा वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ यातायात सेवा सञ्चालनमा रहेको अटोले मनलाग्दी भाडा लिँदा स्थानीयवासी र सेवाग्राही थप सास्तीमा परेका छन्। स्थानीय स्रोतका अनुसार पेट्रोलको मूल्य बढेपछि अन्य वडादेखि गाउँपालिका कार्यालय चैनपुरसम्म अटो भाडा २०० रुपैयाँ पुगेको थियो। तर पछिल्लो समय पेट्रोलको मूल्य घटे पनि भाडा यथावत् २०० रुपैयाँ नै लिइँदै आएको गुनासो छ।

अहिले जिर्खे खोलामा पानीको बहाव बढेपछि यात्रुहरू मनहरी बजारदेखि जिर्खेसम्म १०० रुपैयाँ र जिर्खेदेखि गाउँपालिका कार्यालय चैनपुरसम्म १०० देखि १२० रुपैयाँसम्म तिर्न बाध्य छन्। विशेषगरी गाउँपालिका कार्यालय तथा वडा नं. ४ र ५ का सम्पर्क कार्यालय तथा वडा कार्यालयमा सेवा लिन जाने सेवाग्राही महँगो भाडाका कारण समस्यामा परेका छन्। “पहिले १५० रुपैयाँमा पुगिन्थ्यो, अहिले तेल सस्तो भए पनि २०० नै तिर्नुपर्छ,” एक स्थानीयले गुनासो गरे।

यतिबेला सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया चलिरहेकाले वृद्धवृद्धाहरू चैनपुरस्थित बैंक तथा वडा कार्यालयसम्म पुग्नुपर्ने हुन्छ। तर उनीहरू जोखिम मोलेर खोला पार गर्नुका साथै महँगो भाडा तिर्न बाध्य छन्।

स्थानीय अटो चालकले केही सहुलियत दिए पनि मनहरी तथा बाहिरी क्षेत्रबाट आउने अटोहरूले मनपरी भाडा असुल्ने गरेको आरोप छ। जिर्खे खोलामा पुल निर्माण प्रक्रिया अघि बढे पनि निर्माण सम्पन्न नहुँदासम्म स्थानीयले वर्षायाममा यस्तै सास्ती भोगिरहनुपर्ने देखिन्छ।

पुल निर्माणसँगै सुरक्षित आवतजावत मात्र होइन, यातायात भाडामा समेत नियन्त्रण आउने स्थानीयको अपेक्षा छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.