हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाका २ मासु पसललाई २/२ लाख रुपैयाँ जरिवाना गरेको छ ।
हेटौंडाको १ र २ नम्बर वडामा रहेका मासु पसलहरूको अनुगमन गर्दै मापदण्ड उल्लंघन गर्ने ४ वटा पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा हेटौंडा २ चौकीटोल ओरालोमा रहेको न्यौपाने मिट सप र ओम् फ्रेस मिट सपलाई जनही २/२ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ ।
त्यसैगरी क्वालिटी मिट सप र सलाम मिट सप लाई जनही १/१ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै विक्की मिट सप र प्रतीक मिट सप लाई सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिँदै आवश्यक सुधार गर्न चेतावनी दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार समयमै करचुक्ता नगरेको, पसलमा सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको र मासु फ्रिजिङ गर्ने प्रक्रिया अव्यवस्थित पाइएकाले सम्बन्धित पसलहरूलाई कारबाही गरिएको हो । प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायमा मापदण्डको पूर्ण पालना गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका, उद्योग वाणिज्य तथा पर्यटन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र आन्तरिक राजस्व कार्यालय हेटौंडा लागयतको संस्थाका प्रतिनिधि बजार अनुगमनमा पुगेका थिए ।
मकवानपुर प्रशासनले पछिल्लो समय बजार अनुगमनलाई कडाई गर्दै लापरबाही गर्नेलाई कडा कारबाही गर्न सुरु गरेको छ ।

















