हेटौंडा । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हेटौंडा ११ झम्सिङटार नजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
हेटौंडा बजारबाट झम्सिङटारतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ त ०३९७ नम्बरको बालुवा लोड भएको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित हुँदा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका ३ निवासी २२ वर्षीय विक्रम खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनाको जानकारी पश्चात जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।














