बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
पुर्वप्रधानमन्त्री प्रचण्डले बागमती गाउँपालिकाको आफ्नै लगानीमा निर्मित सहिद स्मृति रंगशालाको पनि उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १–० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको छ।
बागमतीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच घिसिङ घोषित भए । प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ टिमको सहभागिता छ ।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिं, प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, कुमारी मोक्तान र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको आतिथ्यता रहेको थियो ।
















