हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको सदस्य पदमा राजु नेपालले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार मकवानपुर मुद्रण उद्योग संघको बनभोज कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
कुनै पनि अध्यक्ष उम्मेदवारको प्यानलमा नभएको नेपाल सबैको साझा उम्मेदवार हुन् । बिगत १५ वर्षदेखि सबै व्यवसायीको समस्याको विषयमा बोल्दै आएको उनले अब ती तमाम विषयहरुमा काम गर्न आफ्नो उम्मेदवारी रहेको नेपालले बताए । उनका अनुसार उद्योगी तथा व्यवसायीको समस्या समाधानको निमित्त नेतृत्वलाई दवाब दिनको लागि व्यवसायीकै सुझावमा एक कदम अगाडी बढ्दै साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिने भएका हुन् ।
उनले उद्योगी तथा व्यवसायी समक्ष मत अपिल समेत गरेका छन् । “उद्योगी, व्यवसायी तथा मतदाताहरुकै सुझावमा मैले उम्मेदवारी दिने निर्णय गरेँ । मलाई जित हारले अर्थ राख्दैन, हारे पनि जितेपनि म उहाँहरुकै हक-हितको लागि सदैव तत्पर रहने छु।” उनले भने ।
संघले सोही पिकनिककै अवसरमा संघका अध्यक्ष समेत रहेका नेपाललाई उक्त पदको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको छ । संघले नेपालको पक्षमा बस्तुगततर्फ सम्पूर्ण व्यवसायीहरुको साझा उम्मेदवारको रुपमा मत माग्ने निर्णय गरेको हो
घोषणा कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोकर्ण सुबेदी, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय प्रथम उपाध्यक्ष रामप्रसाद घिमिरे, केन्द्रीय सहसचिब खिलानाथ लुईटेल, सहित बिभिन्न बस्तुगत संघका अध्यक्ष एवम प्रतिनिधी र पूर्व अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

















