हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मंगलबार क्याम्पस परिसरमा आयोजित सो कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्।
आयोजकका अनुसार रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उपचारमा आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको सहभागिता थियो।

नेपाल रेडक्रस सोसाइटी हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। इकाइ समितिका सभापति सागर घिमिरेले विपद्का बेला घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्ने भएकाले मानवीय सेवाका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।
‘विपद्को समयमा प्रभावितको उपचारमा सहयोग पुर्याउन सकियोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेका हौं,’ उनले भने, ‘विद्यार्थी तथा युवालाई सामाजिक र मानवीय सेवामा सक्रिय गराउन पनि कार्यक्रमले प्रेरित गर्ने विश्वास छ।’
उनका अनुसार कार्यक्रममा संकलित रगत बाढी प्रभावित तथा उपचाररत बिरामीको आवश्यकतामा प्रयोग गरिने छ। नेविसंघ क्याम्पस इकाइले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ।















