हेटौंडा । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल र नाइट्राजेपामसहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१६, पूर्वेली दमारस्थित २१ वर्षीय रञ्जन भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार मंगलबार बिहान ९ः४५ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले भोम्जनको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा भोम्जनले आफ्नो कोठामा लुकाइराखेको अवस्थामा ट्रामाडोल ४ हजार ८ सय ६० क्याप्सुल र नाइट्राजेपाम ३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले भोम्जनको साथबाट एन्टी कफ १ हजार ४० ट्याब्लेट, एउटा चक्कु तथा उनले प्रयोग गर्ने बा ३१ प ७१९२ नम्बरको भीआर मोटरसाइकल र बा ८४ प ६०७० नम्बरको अपाचे मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। भोम्जनविरुद्ध लागूऔषध कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद एन्टी कफ औषधिका सम्बन्धमा भने औषधि विभाग कार्यालय वीरगन्ज, पर्सासँग समन्वय गरी आवश्यक कारबाही अघि बढाइएको छ।














