हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित राप्तीखोलाले बगाएका एक पुरुष मृत फेला परेका छन् ।
मनहरी गाउँपालिका–४ मसिनेका करिब ७० वर्षीय बलबहादुर रुम्बाको शव मंगलबार बिहान राप्तीखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब ७ः१० बजे बस्तीपुरस्थित राप्तीखोलाले एक व्यक्तिलाई बगाएर तलतर्फ लगिरहेको सूचना प्राप्त भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खोजीका लागि खटिएको थियो ।
खोजीका क्रममा बस्तीपुर पुलबाट करिब ५ सय मिटर तल खोलाको बीच भागमा काठ र ढुंगाको बीचमा अड्किएको अवस्थामा रुम्बाको शव बिहान ७ः४५ बजे फेला परेको प्रहरीको भनाइ छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा वैज्ञानिक अनुसन्धान टोलीसहितको प्रहरी टोली पुगेको थियो । घटनास्थलको मुचुल्का तयार पार्ने काम सकिएपछि शव परीक्षणका लागि हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














