कर्रा खोलाले मोटरसाइकल बगायो, चालकले पौडिएर ज्यान जोगाए

हेटौंडा । वर्षाका कारण हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा आएको बाढीले मोटरसाइकल बगाएको छ। मोटरसाइकल चालक भने पौडिएर सकुशल बाहिर निस्किएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राति करिब ११ बजे शिवम् सिमेन्ट उद्योगतर्फ जाने कर्रा खोलामा ह्युम पाइप राखेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा बाढीले ना.५१ प ५८४९ नम्बरको २२० सीसीको कालो पल्सर मोटरसाइकल बगाएको हो।

मोटरसाइकल हेटौंडाबाट बकैया गाउँपालिका–७ हात्तीखोलातर्फ जाँदै गरेका करिब २० वर्षीय मनिष कार्कीले चलाएका थिए। खोलाको बाढीले मोटरसाइकल बगाएपछि कार्की पौडिएर सुरक्षित बाहिर निस्किएका थिए।

कार्कीले शनिबार बिहान करिब ८ बजे हटियास्थित अस्थायी प्रहरी पोष्टमा घटनाबारे जानकारी गराएका थिए। जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट हटिया र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।

प्रहरीले खोलाले बगाएर बेपत्ता भएको मोटरसाइकलको खोजी गरिरहेको जनाएको छ। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.