हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन्। एक बालिका भने सकुशल उद्धार भएकी छन्।
मंगलबार साँझ करिब ५ः५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्कने क्रममा खोलामा बनेको लच्का तर्ने क्रममा चार बालिकालाई बासुदेव खहरेले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
खोजीका क्रममा हेटौंडा–१९ बस्तिपुरकी ८ वर्षीया रोसनी स्याङ्ताङलाई बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
सोही स्थानकी १३ वर्षीया सिमा भोलन भने खोलाबाट आफैँ निस्कन सफल भएकी छन्। सामान्य चोट लागेकी उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।
बेपत्ता हुनेमा ११ वर्षीया सुमित्रा भोलन र १२ वर्षीया बिनिता भोलन रहेका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। थप खोज तथा उद्धारका लागि बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौँडा तथा नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको बताइएको छ।














