बागमतीको न्युरेनीमा बोलेरो दुर्घटना, तीन जना घाइते

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ न्युरेनीमा बोलेरो पिकअप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो करिब ३ः३० बजे मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको BAE 2133 नम्बरको बोलेरो पिकअपको एक्सल भाँचिएपछि अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल बारीमा खसेको हो।

दुर्घटनामा प्यूठानको झिमरुक गाउँपालिका–१ बस्ने २६ वर्षीय चालक दिनेश जिसी घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, गाडीमा सवार गुल्मीको छत्रकोट गाउँपालिका–५ बस्ने ४५ वर्षीय लेखनाथ बन्जाडेको ढाडमा भित्री चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। अर्का यात्रु गुल्मीको तम्घास नगरपालिका–१ बस्ने ६९ वर्षीय गोमराज श्रेष्ठको बायाँ आँखामा चोट लागेको र अवस्था सामान्य रहेको छ।

दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयको सहयोगमा तीनै जना घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।

प्रहरीका अनुसार तीनै जना घाइते उपचारपछि शनिबार साँझ करिब ७ बजे अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परेको बोलेरो पिकअप घटनास्थलमै रहेको छ।

चालकको अनुमतिपत्र तथा सवारीसम्बन्धी कागजातसमेत साथमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय फापरबारीबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.