हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कलंकीमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार कुलेखानी-मार्खु-चित्लाङ सडकखण्डअन्तर्गत मार्खुबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०५१ प २४१२ नम्बरको स्कुटर शनिबार साँझ सडकमा चिप्लिएर करिब १०० मिटर तल खोल्सामा खसेको हो।
स्कुटरको अल्फाबेट भने प्रस्ट खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक काठमाडौं महानगरपालिका–३१ बस्ने २९ वर्षीय मधुर थापा र पछाडि सवार सोही स्थानकी २९ वर्षीया कृति गिरी घाइते भएका छन्। दुवै जनाको टाउको र बायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवको कमान्डमा ट्राफिक प्रहरीसहित तीन जनाको टोली घटनास्थल पुगेका थिए। त्यसैगरी, सशस्त्र प्रहरी विपद् व्यवस्थापन बेस क्याम्प कुलेखानीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विष्णु मुसिखलको कमान्डमा ११ जना तथा श्री नं. ३ राजदल गण (क्यूवेक ब्याट्री) कुलेखानी ड्यामबाट नेपाली सेनाका मेजर (सेनानी) प्रदीपचन्द्र बर्तौलाको कमान्डमा ११ जनाको टोली उद्धारमा खटिएको थियो।
संयुक्त टोलीले खोल्सामा खसेका थापा र गिरीलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो। उनीहरू राति ११ः४० बजे काठमाडौंस्थित ट्रमा सेन्टर पुगेका थिए।
दुवै घाइतेको उपचारपछि आइतबार बिहान ४ बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको स्कुटर भने घटनास्थलमै रहेको छ।
दुर्घटनास्थल प्रहरी चौकी खानिखेतबाट करिब तीन किलोमिटर पश्चिममा पर्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।














