लामिटारमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारस्थित मदनभण्डारी लोकमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

शनिबार राति करिब १० बजे फापरबारीबाट झुरझुरेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६१० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०२–००४ प ३७१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बागमती प्रदेश ०३–००५ प ८६१० नम्बरको मोटरसाइकल चालक गोरखाको पालुङटार नगरपालिका–१० बस्ने २७ वर्षीय सुरेश योगी घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, ठक्कर दिने मोटरसाइकलका चालक धनुषाको विदेह नगरपालिका–२ बस्ने ३२ वर्षीय राजन कुमार खुशियत घाइते भएका छन्। उनको दुवै हात, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलको पछाडि सवार काभ्रेको भुम्लु गाउँपालिका–४ बस्ने २४ वर्षीय दिपेश लामा पनि घाइते भएका छन्। लामाको अनुहार र दायाँ खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ।

घाइते तीनै जनाको हेटौंडास्थित चुरेहिल मेडिकल कलेज (CMC) अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ। दुवै मोटरसाइकलको कागजातसमेत साथमा नभएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षक सुनिल थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय फापरबारीबाट करिब ५ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.