राक्सिराङमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

मकवानपुर । राक्सिराङ गाउँपालिका–५ ठूलोखोल्सीमा शुक्रबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको बा.प्र. ०३–००२ प ६७७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना.४८ प ५५१९ नम्बरको मोटरसाइकल साँझ करिब ५ः३० बजे ठोक्किएका हुन्।

दुर्घटनामा बा.प्र. ०३–००२ प ६७७ नम्बरको मोटरसाइकल चालक कैलाश गाउँपालिका–८ का २९ वर्षीय सोमदास मोक्तान र पछाडि सवार सोही स्थानका ३७ वर्षीय बाबुलाल मोक्तान घाइते भएका छन्। सोमदासको टाउको र खुट्टामा तथा बाबुलालको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, अर्को मोटरसाइकलका चालक कैलाश गाउँपालिका–८ का २१ वर्षीय विकास चेपाङको टाउको, अनुहार र मुखमा चोट लागेको छ। तीनै जनाको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै मोटरसाइकल चालकले मादक पदार्थ सेवन नगरेको उपचाररत अस्पतालमा खटिएका प्रहरीमार्फत जानकारी प्राप्त भएको छ। घटनालगत्तै प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर राईको कमान्डमा टोली खटिएर दुवै मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी पठाएको छ।

दुवै मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी चैनपुरबाट करिब दुई किलोमिटर उत्तरमा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.