मकवानपुरमा जेनजी आन्दोलनका क्रममा फरार कैदी पक्राउ

हेटौंडा । जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ गाविस–३, हाल थाहा नगरपालिका–११ ठूलोठाडेका ६० वर्षीय मेक्सो लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनलाई इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ करिब ५ः२३ बजे पक्राउ गरेको हो।

प्रहरीका अनुसार लो लागूऔषध (अफिम) मुद्दामा कैद सजाय भोगिरहेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।

पक्राउ परेका लोमाथि अदालतबाट १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई आवश्यक प्रक्रिया पूरा गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठमाडौंमा बुझाइएको छ।

लोलाई लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौंले २०७७ माघ १८ गते ३ किलो लागूऔषध (अफिम) सहित पक्राउ गरेको थियो। सोही मुद्दामा अदालतबाट दोषी ठहर भई उनी कैद सजाय भोगिरहेका थिए।

जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न कारागारबाट कैदीबन्दी भागेका घटनापछि प्रहरीले फरार कैदीहरूको खोजी तथा पक्राउ अभियान तीव्र बनाएको छ। सोही क्रममा प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले लोको खोजी गरी उनलाई पक्राउ गरेको हो।

प्रहरीले फरार रहेका अन्य कैदीबन्दीको समेत खोजी भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.